
राम चन्द्र प्रजापति
भक्तपुर १४ बुधबार । नेकपा (एमाले) भक्तपुर नगर कमिटीको आयोजनामा ४७ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा मंगलवार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वर्तमान राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको थियो।कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश वस्नेतले एमालेलाई बदनाम गर्ने प्रयासको भण्डाफोर गरिनु पर्नेछ ।प्रमुख अतिथि बस्नेतले नेकपा एमालेलाई गिरि बन्धु टि स्टेट र ओम्नि महाकाली सन्धि जस्ता विषयहरूमा जोडेर बदनाम गर्ने प्रयास भइरहेको बताउनुभएको छ। उहाँले यी सबै एमालेविरुद्ध रचिएका झुठा प्रपञ्च मात्र भएको स्पष्ट पार्नुभयो।
बस्नेतले पार्टीले यस्ता गलत प्रचारप्रसारको प्रष्ट रूपमा खण्डन गर्दै जाने र यसलाई रोक्नका लागि कार्यकर्ताहरू सचेत रहनु पर्नेमा जोड दिनुभयो। उहाँले कार्यक्रममा पार्टीमाथि चौतर्फी घेराबन्दी गरी आक्रमण भइरहेको समेत उल्लेख गर्नुभयो।
भक्तपुर नगरमा विगत ५० वर्षदेखि नेतृत्व गरिरहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरको भौतिक पूर्वाधार विकासमा खासै बजेट विनियोजन नगरेको आरोप लागेको छ। विशेष गरी, सूर्यविनायक-अरनिको हाइवे कमलविनायक सडक निर्माणका लागि संघीय सरकारले बजेट छुट्ट्याउनु परेको र नेमकिपाको कार्यकालमा भित्री सडकमा इँटा छाप्ने र उखेल्ने बाहेक उल्लेख्य पूर्वाधारका कार्य नभएको भन्दै आलोचना भइरहेको छ। यसले स्थानीय बासिन्दामाझ संघीय सरकारको सक्रियता र नेमकिपाको भूमिकाबारे नयाँ बहस सुरु गरेको छ।

प्रश्नचिह्नमा नेमकिपा: ५० वर्षको लामो नेतृत्वका बावजुद भक्तपुरको मुख्य सडकको अवस्था र त्यसका लागि संघीय सरकारमा भर पर्नुपर्ने अवस्थाले नेमकिपाको पूर्वाधार विकासको रणनीतिमाथि प्रश्नचिह्न खडा गरेको छ। स्थानीय सरकारको प्राथमिकता र बजेट विनियोजनका विषयमा पनि चासो बढेको छ।

अन्तरक्रिया कार्यक्रममा सहभागी कार्यकर्ताहरूले राखेका जिज्ञासा तथा प्रश्नहरूको जवाफ प्रमुख अतिथिले प्रष्ट पार्नुभएको छ। कार्यक्रममा उठेका विभिन्न विषयमाथि उहाँले गहन व्याख्या गर्दै कार्यकर्ताहरूका मनमा उठेका शङ्काहरू निवारण गर्नुभयो।यो स्पष्टीकरणले पार्टीका नीति र कार्यक्रमबारे कार्यकर्तामाझ रहेको अन्योल हटाउन मद्दत पुगेको विश्वास गरिएको छ।

कार्यक्रममा बागमती प्रदेश सदस्य एवं भक्तपुर निर्वाचन क्षेत्र प्रदेश १ (ख) का इन्चार्ज कृष्णराम गेलाल र पार्टी केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा पूर्वमन्त्री सरस्वती वाटी लगायतले पुष्पलाल श्रेष्ठको योगदान र उहाँले गरेका कार्यहरूको बारेमा चर्चा गर्नुभएको थियो।कार्यक्रमको अध्यक्षता पार्टीका नगर अध्यक्ष मदन द्योलाले गर्नुभएको थियो भने स्वागत मन्तव्य पार्टीका नगर उपाध्यक्ष रामचन्द्र प्रजापतिले राख्नुभएको थियो।
