आधुनिक गाउँ खाने कथा: विजुक्छेले गर्न पाउने, ओली-देउबाले नपाउने-के हो ?

निर्मल भट्टराई
आज शिक्षाको क्षेत्रमा, कर्मचारीतन्त्रमा र अन्य विभिन्न व्यवसायिक क्षेत्रमा राजनीतिकरण हुनु हुँदैन भन्ने बहसले निकै उचाइ बनाएको छ । शिक्षक-प्राध्यापकलाई पार्टी राजनीतिबाट मुक्त गर्ने, उनीहरूको पार्टी आबध्दता कानुनी रूपमै अन्त्य गर्ने र उनीहरूलाई पूर्णरूपेण तटस्थ र व्यवसायिक बनाउनु पर्ने अवस्था सिर्जना भएको छ । तर भक्तपुर नगरपालिकाभित्रको अवस्था ठीक उल्टो दिशातिर गइरहेको छ । भक्तपुर नगरपालिकाको छाताभित्रका सबै सरकारी कर्मचारी, सरकारी विद्यालयका शिक्षक र कर्मचारी र भक्तपुर नगरपाालिकाको करोडौं लगाानीमा सञ्चालित ख्वप: कलेजका प्राध्यापक कर्मचारीले नेपाल मजदुर किसान पार्टीको राजनीतिलाई बोक्नै पर्ने वाध्यता सिर्जना गराइँदैछ । त्यसका केही उदाहरण हेरौं ।
हरेक वर्ष भाद्र महिनाभर नारायणमान नेतृत्वको नेमकिपाले भक्तपुर नगरका बासु माध्यमिक विद्याालय,बागिश्वरी माध्यमिक विद्यालय, आदर्श आजाद माध्यमिक विद्यालयलगायतका अधिकांश विद्यालयमा र नगरपालिकाद्वारा सञ्चालित विभिन्न ती विद्यालयका प्रधानाध्यापक र कलेजका प्राचार्यकै सभापतित्वमा कलेज र विद्यालय चलिरहेको समयमा शिक्षक र पाँच कक्षा माथिका विद्यार्थी जम्मा गरेर ह्योजु हत्याकाण्डको ‘औचित्य र महानता’बारे नेमकिपाका नेताले प्रवचन दिन्छन् । र, भक्तपुर नगरमा नेमकिपाभन्दा फरक विचार राखेमा ह्योजुको हालत हुने घुमाउरो त्रास अवोध वालवालिकाको मनोविज्ञानमा मिसाउँछन् । यसरी बाल मनोविज्ञानमा ‘जीवनको लक्ष महान जुछे विचारधाराको अनुशरण गर्नु हो, संसारको एकमात्र राम्रो नेता नारायणमान बिजुक्छे ‘रोहित’ हुन् र जीवनभर मादलमा भोट हाल्नु अनिवार्य शर्त हो’ भन्ने ‘वैचारिक विषादि’ छर्किइन्छ । भक्तपुरमा आउने प्रमुख जिल्ला अधिकारी, शिक्षासँग सम्बन्धित सरकारी निकाय ‘तैंचुप मैचुप’ भएर फर्कन्छन् । तिनै प्रशासक अर्को जिल्लामा शिक्षकले र कर्मचारीले राजनीति गर्नुहुन्न भन्ने निर्देशन फर्मान गर्छन् ।
नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले हालै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप: कलेज र विद्यालयका प्राध्यापक र शिक्षकहरूको क्लोज क्याम्प धुलिखेलमा आयोजना गरे । नारायणमान विजुक्छे, सुनिल प्रजाापति, सुरेन्द्रराज गोसाईंलगायतका नेमकिपाका हाइकमाण्ड उपस्थित सो क्याम्पमा भक्तपुर नगरभित्रका विद्यालयका पाँच कक्षामाथिका विद्यार्थीलाई नेमकिपामा सङ्गठित गर्ने र ख्वप: कलेजमा पढ्न आएका भक्तपुर जिल्लाबाहिरका विद्यार्थीमार्फत् विभिन्न जिल्लामा नेमकिपाको सङ्गठन विस्तार गर्ने विशेष योजना बनाइयो । विश्वस्त स्रोतले बतायो,नारायणमानलगायतका नेताहरूले प्राध्यापक र प्रधानाध्यापकलाई घुमाउरो ढङ्गले धम्की दिए-‘विद्यार्थीलाई नेमकिपाको राजनीति सिकाउने प्राध्यापक र प्राचार्य मात्र हाम्रो कामदार वर्गको सच्चा सेवक हुन्। बुझ्नुहोस्, तपाईंहरूको काम फगत पढाउने र तलब पकाउनेमात्र नहोस्’।
गत महिना नेपाल नगरपालिका कर्मचारी एसोसिएसन भक्तपुर र नेपाल कर्मचारी समाज केन्द्रिय समितिको संयुक्त आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५१औं वार्षिकोत्सव मनाइयो । ती सरकारी कर्मचारीले नेमकिपाको वैचारिक आदर्श, नेमकिपामा सङ्गठित हुनुपर्ने आवश्यकता र तलबी कर्मचारी भएर पार्टीको सेवा कसरी गर्ने भन्नेमा लामा-लामा भाषण गरे । सेवाग्राहीलाई सेवा दिन छोडेर कार्यालय समयमा यो कार्यक्रमको आयोजना गरिएको थियो । आश्चर्य यो छ कि भक्तपुर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरकारी सेवाका उपसचिव बसन्त भट्टराईलाई पनि नेमकिपाको सो जयजयकार कार्यक्रममा विशेष बक्ता बनाइयो !
अघिल्लो महिना भक्तपुर नगरभित्र रहेको बाल विकास सेकेण्डरी स्कुलको ३७औं वार्षिकोत्सवमा नेमकिपा सुप्रिमो नारायणमान विजुक्छे, वागमती प्रदेशसभाका माननीय सुरेन्द्रराज गोसाईं लगायतले घण्टौं भाषण गरे । उनीहरूका भाषणका कन्टेन्ट थिए-भारतीय विस्तारवाद, अमेरीकी साम्राज्यवाद, नेका र एमालेले उद्योग कलकारखाना बेचे, देशै बेच्न खोज्दैछन् आदि। हालसम्म पनि त्यो स्कुल(उनीहरू त्यो स्कुल नाफारहित सामुदायिक स्कुल हो भन्छन्)का प्रिन्सिपल नेमकिपाका प्रभावशाली केन्द्रिय सदस्य तथा बागमती प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद सुरेन्द्रराज गोसाईं छन्, जो प्रदेशसभामा बेलाबखत जान्छन् र उटिपट्याङ कविता सुनाउँछन् । विद्यालयको वार्षिकोत्सव समारोहको सभापतिको हैसियतमा उनको मन्तव्य सुन्दा लाग्छ, उनी गाली मास्टर हुन्,उनी विद्यार्थीलाई एमाले र कांग्रेसलाई गाली गर्ने तरिकामात्र पढाउँछन् ।
एकछिनलाई मानौं, नारायणमान विजुक्छेको कमाण्डमा भएका उल्लिखित सबै क्रियाकलाप ठीक छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष के पी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले देहायका काम गर्दा के होला?
प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओली र पार्टीका पदाधिकारीबाट झापा दमक २ स्थित हिमालय मा. वि.का प्रधानाध्यापक द्रोण श्रेष्ठको अध्यक्षतामा विद्यालय प्राङ्गणमा आयोजित शिक्षक, कर्मचारी र त्यहाँ अध्ययनरत करिब ३५ सय विद्यार्थी सामेल समारोहमा घण्टौं घण्टा अरू पार्टीलाई तथानाम गाली गर्ने र शिक्षक र विद्यार्थीलाई एमालेमा सङ्गठित हुन निर्देशन दिइयो भने देशका मिडियाले के भन्लान् ? नागरिक समाजले के भन्ला? बाल अधिकारवालाले के भन्लान् ?
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा र पार्टीका पदाधिकारीबाट डडेल्धुरा अमरगढी नपा वडा नं. ५ स्थित महेन्द्र नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरको अध्यक्षतामा विद्यालय प्राङ्गणमा आयोजित त्यहाँका शिक्षक, कर्मचारी र करिब १५०० विद्यार्थी सम्मिलित समारोहमा घण्टौं घण्टा नेपाली कांग्रेसको प्रसस्ती गाउने र अरू पार्टीलाई सत्तोसराप गरिए के होला? समर्थनको बाढी आउला कि आक्रोश अक्कासिएला ?
स्थानीय सरकार प्रमुख भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले आफ्नो पालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईलाई आफ्नो पार्टीको कार्यक्रममा वक्ता बनाएर आफ्नो पार्टीको प्रसस्ती गाउन लगाएझैं प्रधानमन्त्री के पी ओलीले मुख्य सचिव एकनारायण अर्याललाई एमालेको कार्यक्रममा लगेर वक्ता बनाएर एमालेको गुणगान गराउन लगाए के होला? अरू नेता प्रधानमन्त्री भएको बेला त्यसो गरिए कसो होला? मुख्य मन्त्रीले त्यस्तो चलन सुरू गरे होला कि नहोला ? अरू ७५२ पालिकाले भनपाको ‘महान परम्परा’ अनुशरण गर्न सुरू गरे भने मिल्ला कि नमिल्ला ? नेपाली लोकतन्त्रले यस्तो कार्यलाई जायजै ठहराउला?
त्यसो गर्न मिल्दैन भन्ने हो भने नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’लाई र उनको पार्टी नेमकिपालाई मात्र यो विशेष सुविधा किन? राज्यका सबै निकायमा एउटै मापदण्ड लागू हुनुपर्ने हो कि होइन ?
