
भक्तपुर । नेवाः देय् दबू भक्तपुर जिल्लाको तेश्रो अधिवेशन वरिष्ठ साहित्यकार तथा विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका पूर्व अध्यक्ष डा. योगेन्द्र प्रधानले दतात्रयमा आयोजित एक समारोह बीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

कार्यक्रममा वहाँले तीन दशक अघि देखि नेपालभाषा, नेपाल लिपि, नेपाल संवत् र नेपाल राष्ट्रको उत्थान र विकासको लागि अनवरत कार्यरत भाषासेवी योगी स्यस्यःलाई विशेष रुपमा सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभयो ।
त्यसैगरी नेवाः देय् दबूको अक्षय कोष स्थापनाको लागि चन्दा दिनु हुने तीन दर्जन महानुभावहरुलाई समेत सो समारोहमा प्रमुख अतिथिले सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि डा. प्रधानले नेवाः देय् दबू गठनको लागि महत्वपूर्ण भूमिका खेलेको संस्था मध्येको एक संस्था ६३ वर्ष अगाडि गठन भएको बिराटको पूर्व अध्यक्षको हैसियतले आफूलाई प्रमुख अथितिको रुपमा बोलाएकोले मात्रै आफू सहभागी भएको प्रशंग कोट्याउनु हुँदै राजनीतिक र आर्थिक क्षेत्रमा मात्रै नभएर पहिचान जोगाउन पनि नेवाः समुदाय अत्यन्तै सचेत भएर लाग्नु पर्ने धारणा अगाडि सार्नु भयो । नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले आफू अध्यक्ष भएपछि जग्गा किन्ने र भवन बनाउने काम सुरु भएको बताउनु हुँदै अब देय् दबूले आर्थिक र राजनीतिक रुपमा नेवाः समुदायलाई अगाडि लाने उद्देश्यले अगाडि बढ्न लागिपरेको बताउनु भयो । बौद्धिक ब्यक्तित्व ओमचरण अमात्यले उपत्यका तथा नेपालमण्डल समेत अब भौतिक रुपमै नष्ट हुन गइरहेको तथ्य तथ्यांकले देखाइरहेको सुनाउनु भयो । उद्घाटन समारोहमा नेवाः देय् दबू भक्तपुर जिल्लाका सल्लाहकार कृष्णबहादुर घजू र नेवाः देय् दबू उपत्यका विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले पनि शुभकामना मन्तब्य दिनु भएको थियो ।
नेवाः देय् दबू भक्तपुर जिल्ला समितिका अध्यक्ष नरेश सुवालको सभापतित्वमा भएको अधिवेशन उद्घाटन कार्यक्रमा नेवाः देय् दबू भक्तपुर जिल्ला सचिव जीवनपति श्रेष्ठले वार्षिक प्रगति प्रतिवदेन प्रस्तुत गर्नु भएको थियो । नेवाः मिसा दबू भक्तपुरका अध्यक्ष सरिता दुवालले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । नेवाः मिसा दबूको दोश्रो अधिवेशन पनि भएको कार्यक्रममा सरिता दुवालले स्वागत गर्नु भएको थियो भने गायिका सरिता प्रजापतिले गीत प्रस्तुत गर्नु भएको थियो । सो अधिवेशनले नरेश सुवालको अध्यक्षतामा नयाँ जिल्ला समिति सर्वसम्मतिले निर्वाचित गरेको छ । त्यसैगरी कृष्णप्रसाद प्रजापतिको अध्यक्षतामा गठीन नेवाः देय् दबू भक्तपुर नगर समिति र सरिता दुवालको अध्यक्षतामा गठीत नेवाः मिसा दबू भक्तपुर जिल्ला समितिलाई पनि शपथ ग्रहण गराइएको थियो ।
