बहुजन हिताय साहित्यको लक्ष्य
० कृष्ण प्रजापति
छबीस सय वर्ष अगाडि हालको नेपाल भूमि लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतमले त्यति बेला नै एउटा सिद्धान्तको प्रतिवादन गरेको थियो, बहुजन हिताय, बहुजना सुखाय । समाजको बहमत जनताको हीत हुने काम गर्नु पर्दछ भन्ने खालको उक्त मानवीय सिद्धान्त हालसम्म पनि पूर्ण रुपमा लागू हुन सकिरहेको छैन । सो सिद्धान्त प्रतिपादन भएपछि उनका शिष्यहरुले उक्त सिद्धान्तलाई संसारभर प्रचार प्रसार गरिरह्यो । सोही क्रममा अनेकौं खालका कथा, कहानी तथा गीतहरु मार्फत् जनतालाई सो सिद्धान्त बुझाउने काम हालसम्म भइरहेको छ । त्यसरी बुद्ध धर्म दर्शनमा जुन खालको कथा वाचनको संस्कार संस्कृति विकास भएको हो । त्यो सबै सिद्धार्थ गौतमले अथक तपश्याबाट प्राप्त गरेको बहुजन हिताय, बहुजन सुखायको ज्ञान र सिद्धान्तलाई विश्वभर प्रचार प्रसारको लागि भइरहेको साहित्यिक गतिविधिहरु नै हुन् । यसरी जनताको साहित्यको उद्देश्य भनेकै बहुजन सुखाय, बहुजन हिताय सिद्धान्त अनुरुप बहुमत काम गरी खाने ज्यापु ज्यामि वर्गको सेवा गर्ने हुनु पर्दछ ।
अहिले पनि प्रगतिशील साहित्य र प्रतिक्रियावादी साहित्यको रुपमा देश भित्र र देश बाहिर पनि विश्वभर दुई थरी साहित्य हुर्किरहेका छन् । अरुलाई काम गराएर आफू मोजमस्तीले खाने सामन्त वर्गको गुणगान गर्ने साहित्य, राजा महाराजाहरुलाई उच्च स्थानमा राखी कथा कहानी बनाएर प्रचार गर्ने साहित्य सामन्त वर्गको साहित्य वा प्रतिक्रियावादी साहित्यहरु हुन् ।
रामायण, महाभारत, कृष्णलिलाको साथसाथै हरिश्चन्द्र राजाको कहानी सबै राजा महाराजाहरुलाई ठूला, बीर, भलादमी, समाजका अगुवाको रुपमा चित्रण गरिएका प्रतिक्रियावादी साहित्यहरु हुन् । त्यसको विपरित एक जना मजदुरलाई नायक, हिरो वा प्रमुख पात्र बनाएर लेखिएको मेक्सिम गोर्किको मां, (आमा) उपन्यास, ज्यापु ज्यामि नै भएपनि ल्हासा सम्म पुगेर आफ्नो परिवार र समाजको लागि मरिमेट्न तयार भएर यातना सहन विवस एक पात्र रहेको कहानी जि वया ला लाछि मदुनि, मुनामदन जस्ता कहानीहरु प्रगतिशील साहित्य हो । साहित्य मार्फत् पनि जनताको सेवा गर्न सकिन्छ भन्ने धारणा उत्पन्न भएपछि आफ्नो शासन लामो अवधिसम्म तिकाइ राख्न दरवारीयाहरुले लेख्न दिएको साहित्य र सितला माजु जस्तो देशका प्रतिक्रियावादी शासक वर्गले जनतालाई देशबाट निकाला गरी दुख दिने जस्तो कहानी प्रगतिशील साहित्य संगसंगै हुर्केबढेको पाइन्छ । त्यसो भएर पनि सामन्त वर्गको हाबी भएको समाज भएकाले हामी कहाँ पहिला पहिला प्रगतिशील साहित्यकारहरुको नाम खुल्ला रुपमा अगाडि आएको थिएन ।
आज समाज परिवर्तनको संघारमा छ । तर यहाँ अहिले पनि एकजना ब्यक्ति वा राजा महाराजाहरुलाई नायक बनाएर कथा कहानीहरु तयार पार्ने प्रतिक्रियावादी साहित्यकारहरुको कमी छैन । त्यसो भएर पनि जनताले राजा महाराजाहरुको भजन गाउँदै पनि आफ्नो अधिकार माग्न थालेका छन् । दाफा भजनका हिजो सामन्ती समाजबाट हुर्केका कवि कलाकारहरुले समेत गीत गाउनेतिर लालायित हुने गरेका छन् । भक्तपुरमा समय समयमा हुने गरेका विराट नेपालभाषा साहित्य सम्मेलन लगायत प्रगतिशील साहित्य उजागर गर्दछ ।
साहित्य पहिलादेखि राजनीतिसंग अलग्ग हुन सकिरहेको छैन । प्रगतिशील साहित्यले बहुमत जनताको राजनीतिक पक्ष लिएर बहुमत जनताको सेवा गर्दछ । त्यसैगरी प्रतिक्रियावादी साहित्यले राम, लक्ष्मण, कृष्ण, सीता, गीता जस्ता पौरानिक पात्रहरुलाई अगाडि सारी राजा महाराजाहरुको सेवा गरिरहेको हुन्छ । त्यो बेलाका ती साहित्यबाट पनि वास्तविक रुपमा प्रतिक्रियावादी साहित्यको रचना गरी प्रगतिशील पक्षलाई दवाव सिर्जना गरिरहेको भनेको साहित्य राजनीतिसंग अलग्ग बस्न नसकिएकै प्रमाण हो ।त्यसैले पनि हाल साहित्य र सांस्कृतिक कार्यक्रमहरु देशभर ठाउँ ठाउँमा र विश्वभर नै अन्तर्राष्टिय स्तरमा समेत चलन चल्तीको विषय बनेको छ । पहिला विश्वस्तरका साहित्यकारहरु बीच हाम्रो देशका महाकवि लक्ष्मीप्रसाद देवकोटाले भाग लिएको कुरा सुन्न पाए झैं अहिले पनि विश्व स्तरको साहित्य र राष्टिय स्तरको साहित्य गोष्ठी र साहित्य सम्मेलनहरु हुनु आवश्यक देखिएको छ ।
हिजो आजको साहित्य भन्दा पनि सयौं वर्ष अगाडिका साहित्य हेर्दा हाम्रो देशमा प्रगतिशील साहित्य त्यति मजबुत
हुन सकिएको देखिन्न । तर रुसमा एक सय बीस वर्ष अगाडि नै सन् १९१७ को अक्टोबर क्रान्ति हुनु पूर्व मेक्सिम गोर्की जस्तो विश्वप्रसिद्ध साहित्यकारले माँं, आमा वा मडर जस्तो उपन्यास मार्फत् पाभेल जस्तो ज्यापु ज्यामि मजदुरलाई नायक बनाएर साहित्यमा एक खालको अदभूत अवतारलाई प्रवेश गरायो । विश्व भरका साहित्यकारहरुलाई नमूनाको रुपमा देखाएको उक्त रचनाबाट पछि प्रगतिशील साहित्यको श्रीगणेश हुन पुगेको हो ।
